दैलेख: दैलेखमा रहेका सवै राजनीतिक दल नागरिक समाजले दैलेखको महत्वपूर्ण मानिएको देवकोटा चौकलाई फराकिलो बनाउने सर्वसम्मत निर्णय गरेका छन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजनमा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो ।
दैलेख सदरमुकामको व्यस्त मानिने देवकोटा चौकमा रहेको देवकोटाको सालिक रहेको क्षेत्रलाई फराकिलो बनाउनका लागि जिल्ला समन्वय समितिको पुरानो भवन विस्थापन गर्ने, स्थानीय व्यक्तिहरुको केही घरका बारदली व्यवस्थापन गर्ने, जिल्ला प्रहरी कार्यालय दैलेखको मुख्य द्धारलाई भित्र सार्ने लगायतका निर्णयहरु गरिएको छ । अहिले सञ्चालनमा आएको जिल्ला प्रहरी र जिल्ला अदालत कार्यालय वीचबाट गएको सडकलाई फराकिलो बनाउने निर्णय समेत गरिएको छ ।
दैलेखको निकै महत्वपूर्ण मानिएको ऐतिहासिक महावु सडक बिस्तारका लागि भएको ढिलाई बारे सर्वदलिय बैठकमै छलफल भएको छ । सडक डिभिजन सुर्खेतलाई तत्काल सडक विस्तारबारे जानकारी गराउन सर्वदलिय निर्णय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् । महावुमा धार्मिक पर्यटकहरुको विस्तार अभियान सञ्चालन गर्ने र महावु धाममा मदिरा निषेधित क्षेत्र बनाउने तयारी थालिएको छ ।
दैलेखको महत्वपूर्ण आयोजना मानिएको साहरे आयोजनाको कामको जिम्मेवारी लिएका निर्माण कम्पनीलाई तत्काल काम सम्पन्न गरेर योजना हस्तान्तरण गर्न निर्देशन समेत दिईएको छ । योजना हस्तान्तरण पश्चात नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरिएको छ ।
सर्वदलिय बैठकमा प्रदेश र संघीयत निर्वाचनलाई धाँधली रहित र निश्पक्ष रुपमा सम्पन्न गर्न सबैले एकेबद्धता प्रकट गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् ।










